काठमाडौँ, जेठ ५ । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणनाका क्रममा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको छ । एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि बहिस्कार गरेका छन् । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृत हेम बुढाथोकीले बताए ।
विराटनगर १२ मा ६१४९ मत खसेको थियो । ३२२४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको हो । १३ मध्ये ३ वटा जसपाको छातामा, २ वटा काँग्रेसको रुखमा, ८ वटा एमालेको सूर्य चिन्हमा मत परेको थियो ।
वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।




