काठमाडौं, जेठ ५ । जनता समानजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।
जसपा र एमालेबीच तालमेलका बीच पालुङटार माओवादीले हात पारेको हो । पालुङटारमा काँग्रेससँगको तालमेल भाँडिएपछि जसपाले मेयर र एमालेले उपमेयर लिने गरी तालमेल भएको थियो । जसपासँगको तालमेल भत्काउन काँग्रेसको लागि पनि घातक भएको छ । २०७४ मा काँग्रेसले जितेको प्रमुख पद माओवादीले खोसेको छ । माओवादीले प्रमुख जितेर उपप्रमुख पनि जोगाउन सफल भएको छ ।




