काठमाडौँ, ३ जेष्ठ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् ।
उनी भारत हुँदै नेपाल आउने कार्यक्रम रहेको छ । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन’ उनको भ्रमण हुन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उनले नेपाल भ्रमणबारे अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग कुराकानी गरेकी छन् । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् ।




