काठमाडौं,बैशाख ३० । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)ले स्थानीय तहको निर्वाचन अपेक्षकृतरुपमा अनुमान गरिएको भन्दा केहि फरक तर सापेक्षितरुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ । निर्वाचनमा आम मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएको समेत देखिएको समितिले बताएको हो । स्थलगत पर्यवेक्षणको लागि खटिएका पर्यवेक्षकहरूले विशेष गरेर महिलाहरूको लागि र शारीरिक फरक क्षमता भएका मतदाताहरूको लागि मतदानस्थलमा मतदान गर्न पहुँचको असुविधा भएको देखिएको समितिको भनाइ छ । कुनै कुनै मतदानस्थलमा शारीरिक क्षमता कमजोर भएका मतदाताहरू वैशाखी टेकेर, ज्येष्ठ नागरिकहरू आफन्तको काँधमा झुन्डिएर, गएका समेत देखिएको बताउँदै समितिले नेपालगन्जमा ह्वील चियर मतदान केन्द्रभित्र लग्न नदिई एकदमै कष्टपूर्वक घिस्रिँदै मतदान केन्द्रभित्र मतदान गर्न गएको पाइयो ।
यद्यपि छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जानकारी प्राप्त भएको समितिको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘अशक्त र सहारा चाहिने व्यक्तिहरूको लागि मतदान गर्न आफ्नो नजिकको नातेदारले सहयोग गर्न पाउने कानुनी अधिकारको दुरुपयोग गरेको देखियो र यसैलाई कारण बनाएर राजनीतिक दलहरुबीच आपसी द्वन्द्वको वातावरण सिर्जना भएको समेत देखियो ।’
आयोगले मौसम प्रतिकूलताको पूर्व अनुमानका आधारमा निर्वाचन केन्द्रहरूमा हावापानीबाट बच्नका लागि त्रिपालहरूको व्यवस्था गर्न भनिएको थियो तर धेरै स्थानमा सो को पालना भएको पाइएन जसका कारण मतदाताहरूलाई असहजता भएको र मतदानमा कमी ल्याइएको देखियो । यसैगरी यसपालि निर्वाचन शिक्षा मौन अवधिमा मात्र सञ्चालन गर्ने निर्वाचन आयोगको योजना भएतापनि, स्वयम् निर्वाचन अधिकृतहरू नै अनभिज्ञ भएको पाइयो जसका कारण निर्वाचन प्रक्रिया नै लम्बिन गएको र मतदाताहरू प्रतिकुल मौसमका बाबजुद पनि लामो लाइनमा बस्न परेको पर्यवेक्षणका क्रममा जानकारीमा आएका छन् ।




