आचारसंहिता उल्लङ्घन गर्दै चुनावी सभामा सहभागी हुन लागेको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध उजुरी

`

     २०७९ वैशाख २१ गते ५:१३

काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको छ ।

गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन् । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे ।

निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?