काठमाडौं, बैशाख २१ । केही दिनयता उपत्यकामा चोरीका घटना बढिरहेका छन् । चक्रपथको बाहिरी क्षेत्रका बस्तीमा दिउँसोको समयमा चोरी बढेको प्रहरी अधिकारी बताउँछन् । गत फागुनमा कैद माफी पाएर जेलबाट छुटेकासमेत चोरीमा सक्रिय भएको प्रहरी आशंका छ ।
चुनावी माहोल सँगै काठमाडौं उपत्यकामा चोरीको माहोल पनि बढ्न थालेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका पूर्वएसएसपी दीपक थापाकै घरमा समेत चोरी भएको छ । कागेश्वरी–मनहरा– ६ मूलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो चोरी भएको हो । उनको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ चोरी भएको हो ।
पूर्वएसएसपी दीपक थापाको घरमा कोही नभएको अवस्थामा मूलढोकाको ताल्चा फुटाएर चोरी भएको हो । १६ तोला सुनका गहना र ६० हजार रुपैयाँ चोरी भएको प्रहरीले पुष्टि गरेको छ । थापाले सो घर बिक्रीका लागि विज्ञापन राखेका थिए । त्यसपछि घर हेर्न विभिन्न समूह पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केही दिनदेखि निगरानी गरेर योजनाबद्ध रूपमा चोरी भएको प्रहरी आशंका छ । स्थानीय प्रहरीसहित काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले समेत घटनाको अनुसन्धान थालेको छ ।




