पद्धतिगत र विधिवत् ढङ्गले टिकट वितरण भएन, अन्याय भएको छ : गुरुराज घिमिरे

`

     २०७९ वैशाख १३ गते १०:०५

काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उनको आरोप छ।

‘पद्धतिगत र विधिवत ढंगले टिकट वितरण भएन। धेरै साथीहरूलाई यसबाट अन्याय भएको छ,’ उनले भने, ‘केही राम्रा साथीहरूले पनि अवसर पाएका छन्। तर पार्टीका धेरै साथीलाई पहुँच, पैसा, शक्ति र दादागिरीका आधारमा टिकट दिइएको छ।’

उनले पार्टीका केही राम्रा साथीहरूले स्थानीय चुनावमा टिकट पाएकोले उनीहरूलाई स्थानीय चुनावमा सहयोग गर्ने पनि बताएका छन्।

घिमिरे कांग्रेस महाधिवेशनमा प्रदेश नम्बर १ को सभापति पदमा दुई भोट नपुगेर पराजित भएका थिए। हालै टिकट वितरण गर्न बसेको प्रदेश नम्बर १ पार्टी संसदीय समिति बैठकबाट पनि उनी असन्तुष्टि जनाउँदै बाहिरिएका थिए।

कांग्रेसजस्तो ठूलो र धेरै नेता भएका पार्टीमा कार्यकर्तामाथि अन्याय भयो भनेर बोलिदिने एक जना पनि नदेखिएको उनले बताए।

‘बिपी कोइरालाले नै भन्नुभएको थियो- पार्टीमा अन्याय हुँदा टुलुटुलु हेरेर बस्नु भनेको दासता हो,’ उनले भने, ‘आज बिहान उठ्नेवित्तिकै मैले बिपीका कुरा सम्झेँ। यस्तो अन्याय राजनीतिको म निरन्तर साझी भएर किन बस्नेरु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?