काठमाडौँ, १२ बैशाख । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु विगत १५ दिनदेखि आन्दोलनमा उत्रेका छन् । विद्यार्थी आन्दोलनका कारण दुई सातायता डीन कार्यालयमा ताला लागेको छ ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु अध्ययन गराउने अध्ययन संस्थान हो । गत फागुन २६ गते अध्ययन संस्थानले नयाँ शैक्षिक सत्रमा स्नातक पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परिक्षा लिएको थियो । उक्त दिन बेलुका थोरै विद्यार्थी उत्तीर्ण भएको जानकारी भएपछि, विगतका दिनहरुमा विद्यार्थी उत्तीर्ण हुन ५० प्रतिशत अङ्क चाहिनेमा रातारात भर्ना समितिको बैठक बसेर ४० प्रतिशतमा झार्ने निर्णयको विरोधमा विद्यार्थी संगठन लागेका हुन् ।
कृषि स्नातक अध्ययन हुने कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका चार आंगिक क्याम्पस लमजुङ क्याम्पस, पक्लिहवा क्याम्पस, रामपुर क्याम्पस र गौरादह क्याम्पसका तीन विद्यार्थी समूह अनेरास्ववियु, ने.वि.संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए । त्यसमा स्नातकोत्तर कमिटीका चारवटै विद्यार्थी संगठनको ऐक्यबद्धता रहेको थियो ।




