काठमाडौँ, ३० चैत्र । पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुने भएको छ । तीन हजार ५६० मिटरको उचाइमा रहेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा गरिने आयोजना आजदेखि सुरु भई आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।
उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित करिब पाँच सय चौँरीलाई एकसाथ प्रदर्शनमा सहभागी गराइने भएको छ ।
फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिनुभयो ।
चौँरीपालनमा आधारित संस्कृति लोप हुँदै गएको र त्यसको संवद्र्धन गर्दै उच्च पहाडी क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्न, चौँरीजन्य सामग्रीको बजार र मूल्य सुनिश्चितताका लागि सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिन, रैथाने परम्परा, कला संस्कृतिको संवद्र्धन गर्न महोत्सवबाट सहयोग पु¥याउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले बताउनुभयो ।
महोत्वसका अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने छ ।



