काठमाडौँ, १५ चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीलाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङमुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताए ।
‘कि अहिले पनि विद्यमान पार्टीहरूलाई भोट दिएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ भन्नुजस्तै हो । सिर्कना ठोकेर र दाना दिएर केही गरेर पनि आउदैन’, लिङ्देनको भनाइ छ । अध्यक्ष लिङ्देनले एक वर्षको बीचमा हुने तीनवटै निर्वाचनमा उनीहरुका बाकस खाली गरेर देखाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले काँग्रेस, एमाले र माओवादीका गाउँघरका कार्यकर्ताहरूले नै उनीहरुकै पार्टीका नेताहरुलाई चोर, भ्रष्ट र बदमास भएको बताउने गरेको पुन दोहोर्याएका छन् ।




