काठमाडौँ, २४ चैत्र । हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् ।
धमलाले स्पष्टीकरण पत्र बुझाएको र त्यसबारे अध्ययन गरिने काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए । काउन्सिलको टोली सुर्खेतबाट काठमाडौं आइरहेको र काउन्सिलको बैठक बसेर आवश्यक निर्णय गरिने उनको भनाई छ ।
गत चैत २० गते प्राइम टिभी र युट्युव च्यानलबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो ।
काउन्सिल स्रोतका अनुसार छिटो समाचार दिन खोज्दा गल्ती भएको भन्दै स्पष्टीकरण पत्रमा सञ्चारकर्मी धमलाले आइन्दा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।




