जलश्रोतको व्यवस्थापन आजको आवश्यकता : मन्त्री भुसाल

`

     २०७८ चैत्र २३ गते १:३६

काठमाडौँ, २३ चैत्र । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको उचित प्रयोड गरी हरेक क्षेत्रको विकास गर्नु आजको आवश्यकता भएको बताएकी छन् । बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

मन्त्री भुसालले भनिन्, ‘८० प्रतिशतभन्दा बढी पानी वर्षातको बेलामा मात्र उपलब्ध हुने भएकोले बाढी, पहिरो जस्ता विपत्तिसँग पनि लडिरहेका छौँ । हाम्रो ठुलो आर्थिक स्रोतमा क्षति हुँदै आएको छ । त्यसै गरी अन्य समयमा नेपालका धेरै क्षेत्रमा खडेरीको समस्या पनि हुने गरेको छ । त्यतिमात्रै होइन, हाम्रो हिमाली देश नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको छ । खानेपानी, सिँचाइ र विद्युत उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुँदै आइरहेको छ । जलवायु परिवर्तनको असरले हिमनदीहरू पग्लिरहेका छन्, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ । प्राकृतिक जोखिम कम गर्न र जलवायु परिवर्तनप्रति लचकता बढाउनको दृष्टिकोणले पनि पानी, ऊर्जा र खाद्यान्नको बढ्दो मागलाई सम्बोधन गर्ने गरी दिगो र एकीकृत दृष्टिकोण आवश्यक पर्दछ ।’

प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी रहेको मन्त्री भुसालले बताइन् ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गरिन् । उनले बहुपक्षीय चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?