एजेन्सि, ११ चैत्र । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘सैन्य सहयोगका लागि आग्रह’ गरेसँगै बेल्जियमको राजधानी ब्रसेल्समा बिहीबार भएको बैठकमा नेटो सदस्य राष्ट्रका नेताहरूबीच सहयोग गर्नका लागि पूर्वी युरोपमा सैन्यशक्ति बढाऊने सहमित जुटेको हो ।
‘रुसले यत्रुेनमाथि गरेको आक्रमणको जवाफमा हामीले नेटोको प्रतिरक्षा योजना सक्रिय पारेका छौं । त्यसका साथै, पूर्वी युरोपमा जल र हवाई हातहतियारसहित ४० हजार फौज तैनाथ गरिएको छ,’ नेटो सदस्य राष्ट्रका नेताहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न स्लोभाकिया, रोमानिया, बुल्गेरिया र हंगेरीमा गरी ४ वटा सैन्य अखडा स्थापना गरिने जनाएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकाले आवश्यकताअनुसार थप सहयोग गर्दै जाने बाइडेनको भनाइ छ । अमेरिकाले थप ३ सय २८ जनाविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । तीमध्ये अधिकांश रुसी सम्भ्रान्तहरू तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखहरू रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई आवश्यक परेकाले हातहतियारलगायतको सहयोग गरिएको प्रतिक्रिया दिएका छन् । जोन्सनले युक्रेनलाई बचाउन विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताएका थिए ।
नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले पत्रकारहरूसँग कुराकानी गर्दै ‘नेटो सदस्य राष्ट्रका नेताले आफ्नो स्वतन्त्रता र भविष्यका लागि युक्रेनी जनताले देखाएको सहास र दृढ संकल्पको’ प्रशंसा गरेका जनाए । युक्रेनको सहयोगका लागि नेटोले सहयोग जारी राख्ने उनको भनाइ छ ।
यसअघि उनले पूर्वी युरोपका लागि तत्काल थप सैन्य सहयोग आवश्यक रहेको र त्यसका लागि नेटोका सदस्य राष्ट्रहरू एकजुट हुने बताएका थिए ।




