चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरूसँग छलफल गर्नेछौँ: प्रचण्ड

`

     २०७८ चैत्र ०६ गते ९:१३

काठमाडौँ, ६ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका यस्तो बताएका हुन् ।

प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएकाले उनीहरुको अभिव्यक्ति फरक आए पनि मुल नेतृत्वहरुसँग निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेको उनले बताए ।

उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे । उनले भने,‘चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरुसँग छलफल गर्नेछौँ । तर, अहिले देश निर्वाचनमा गइसकेकाले हामी फेरि एकजुट भएर निर्वाचनमा जुटिसकेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?