काठमाडौं, चैत ४ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउँदै छन् । आईजीपीका ब्याचीहरू सबै एकै मितिमा अवकाश पाउने भएपछि भावी आईजीपीका लागि चारजना एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच कडा प्रतिस्पर्धा हुने भएको छ। नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिस भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि चारजनाबीच प्रतिस्पर्धा हुने भएको हो। सिंह र धानुकलाई मंगलबार भर्खर मात्रै एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्बाट हुने गर्छ ।
डीआईजी वसन्त पन्तलाई पनि मंगलबार नै एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । उनी हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची भएकाले उनले आईजीपीसँगै अवकाश पाउनेछन् । त्यसैले उनी आईजीपीको दौडमा हुने छैनन् । पोखरेल र थापा भने यसअघि नै एआईजी थिए । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।
अब नयाँ आईजीपीले नै निर्वाचन सुरक्षाको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् । एआईजीहरू पोखरेल र थापा आईजीपी शैलेश थापा क्षेत्रीका वैकल्पिक हुन् । सिंह र धानुक पनि पोखरेल, थापाकै ब्याची हुन् । अहिलेसम्मको अवस्थालाई हेर्दा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति नै आईजीपी बन्दै आएका हुनाले सरकारले जसलाई पनि आईजीपी नियुक्त गर्न सक्छ ।




