काठमाडौँ, ४ चैत्र । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै उनले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कार-संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् ।
उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार लोकार्पण गरेको हो ।
पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उनले बताए । पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए ।




