काठमाडौं, चैत ३ । रूससँगको शान्ति वार्ताका लागि यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छ शर्त अगाडि सारेका छन् । राष्ट्रपतिको कार्यालयले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको जनाएको छ । जेलेन्स्कीले विहीबार राष्ट्रका नाममा सम्वोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ विषय छन् ।” उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई यूक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका थिए ।
रूस र यूक्रेनबीच पटक पटक वार्ता भएतापनि वार्ता परिणाममूखी हुन भने सकेको छैन। वार्ताको शिलशिला भने जारी नै रहेको छ । पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो । सो वार्ता भिडियोमार्फत् भएको थियो । त्यसको दुई दिनपछि यूक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए । गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए । दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले छ शर्त अगाडि सारेका हुन् । रूस र यूक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । अमेरिका, बेलायत, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी छ देशको अनुरोधपछि बैठक बोलाइएको हो ।




