काठमाडौँ, २९ फाल्गुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने विषयमा काँग्रेसले कुनै धारणा नबनाएको बताएका छन् ।
आइतबार सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको हो । यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल छैन । यद्यपि यही गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छैन ।’
साथै महामन्त्री थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यो बेला आवश्यकताका आधारमा काँग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । पछि हामीले चुनावमा तालमेल गरेनौँ, एकअर्काबीचमा प्रतिस्पर्धा गरेर चुनावी मैदानमा होमिएका थियौँ।’
उनले यो पटक पनि चुनावमा तालमेल गरेर जाने की एक्लाएक्लै लड्ने भन्ने विषयमा पार्टीभित्र ‘लबिङ’ भइरहेको बताए ।




