काठमाडौँ, २५ फागुन । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ । सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले बुधवार गृह मन्त्रालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल गरेका छन् ।
नागरिकता समस्या समाधानका लागि दलीय सहमतिमा विद्येयक अगाडि बढाउने बारे छलफल भएको छ ।
सहभागीहरूले विधेयकलाई सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीचको सहमतिमा टुंग्याउनु पर्ने बताएका छन् । गृहमन्त्री खाणले सरकार दलीय सहमतिमा नागरिकतासम्बन्धी विधेयक संसदबाट पारित गरेर नागरिकता नपाएकालाई नागरिकता दिने पक्षमा रहेको बताए ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री बडूले दलीय सहमतिका आधारमा नागरिकता विद्येयक टुंग्याउनु पर्ने बताए ।
महान्यायाधिवक्ता खातीले संविधानले नागरिकताका विषयमा प्रदत्त गरेको अधिकार नागरिकलाई दिन कानुन ‘अपडेट’ गर्नुपर्ने बताए ।




