काठमाडौं, फागुन २४ । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबै पक्ष प्रतिवद्ध हुनुपर्ने बताएका छन्। संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पतिमा हक, सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक प्रदान गरिएको बताए।
प्रधानमन्त्री देउवाले देशको कानुनले गरेको समस्त व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिवद्ध हुनुपर्ने देउवाले बताए। देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले तीनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए। ‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी एवम् समतामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ,’ उनले भने, ‘संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरी महिलाहरुलाई भेदभावबिना समान वंशीय हक, सुरक्षित मातृत्व, प्रजनन् सम्बन्धी हक, पैतृक सम्पत्ति लगायत सबै विषयमा समान हक, अधिकारको प्रत्याभूति गरेको छ।’
सरकारले महिलाहरूको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने देउवाले बताए। महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति अपनाई सरकारले काम गरिरहेको दाबी गरे ।




