काठमाडौं, फागुन २४ । माओवादी पार्टीभित्र देखिएको शक्ति संघर्ष र फरक मत सम्बोधन गर्दै केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन लगायतमा सकस बढेको छ। परिणामस्वरुप सोमबार केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न सकेन । यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सफल भएको दाबी गरेका छन् । उनले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा अब चुनाव केन्द्रित हुनुपर्ने भन्दै यस्तो अवस्थामा चुनावपछि बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन, एमसीसीबारेको विवाद लगायतका विषयमा छलफल गर्नेगरी ‘वस्तुगत’ निर्णय गर्न सफल भएको दाबी गरे ।
केन्द्रीय समिति बैठक वस्तुवादी निर्णय गर्न सफल भएको प्रचण्डको दाबी छ। प्रचण्डले यस्तो दाबी गरे पनि कार्यकर्ताहरु भने बैठकले एमसीसीबारे उत्पन्न विवाद कसरी समाधान हुन्छ र पदाधिकारीमा को–को चयन हुन्छन् भन्नेमा चासो राखिरहेका थिए । ती विषयलाई तत्कालका लागि थाँती राखिएको छ । विषयको गम्भीरतालाई ध्यानमा राख्दै अध्यक्ष प्रचण्डले विवादित विषयका सन्दर्भमा स्थानीय तहको चुनावपछि छलफल गर्ने गरी थाँती राखेका हुन् । उनले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका सबै नामसमेत अनुमोदन गराउन सकेनन् ।
सिनियर,जुनियरबारे विवाद भएपछि प्रचण्डले प्रस्ताव गरेका ९७ मध्ये ५० जनाको नाममात्र अनुमोदन भयो । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बैठकमै ‘एनआरएनले एक पटकको नेपाल सधैँ नेपाली भनेझैं माओवादीमा एक पटक वरिष्ठ भइसकेको नेता सधैँ वरिष्ठ हुने हो र ? ’ भन्दै प्रश्न गरेका थिए । विवाद बढेपछि अध्यक्ष प्रचण्ड ‘ब्याक’ हुँदै वैकल्पिकसहितका केन्द्रीय सदस्यको नाम पछि टुंग्याउने निर्णयमा पुगेका थिए । माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आगामी जेठ २० गते बस्ने भएको छ । सो बैठकले नै पदाधिकारी, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन गर्ने जनाइएको छ ।
माओवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटीमा २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने छन् भने तीमध्ये अझै केही सदस्य मनोनयन गर्न बाँकी छ । महाधिवेशनबाट २४७ सदस्य चुनिएकोमा सोमबार अध्यक्षले ९७ सदस्य थप पर्ने प्रस्ताव गरेका थिए । तर, बैठकले तीमध्ये ५० जनाको नाममात्र अनुमोदन गरेको छ । जसअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी हाल २९७ सदस्यीय भएको छ ।




