काठमाडौँ, २२ फाल्गुण । युक्रेनको मारिउपोलमा दोस्रो पटक आज युद्धविरामको घोषणा गरिएपनि मानिसहरुलाई उद्धार गर्ने काम असफल भएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसले आइतबार एक विज्ञप्ति ट्वीट गर्दै युक्रेनको मारिउपोलमा मानिसहरुलाई निकाल्ने प्रयास असफल भएको बताएको छ ।
रेडक्रसले मानिसहरू मारिउपोलमा आतंकमा बाँचिरहेको उल्लेख गर्दै आज कम्तिमा २ लाखलाई बाहिर निकाल्ने प्रयास असफल भएको उल्लेख गरेको छ ।
मिडिया रिपोर्टका अनुसार युद्धविरामको घोषणा पछि पनि गोलीबारी नरोकिएको बताइएको छ । यसअघि शनिबार पनि युद्धविराम पछि पनि गोलि चलेपछि उद्धारको काम अवरुद्ध भएको थियो ।
रेडक्रसले भनेको छ‘मारिउपोल र युक्रेनका अन्य ठाउँहरूमा मानिसहरू निराशाजनक अवस्थामा बाँचिरहेका छन् । उनीहरूलाई सुरक्षित राख्नुपर्छ । उनीहरुलाई तुरुन्तै पानी, खाना, आश्रय चाहिएको छ । हामीलाई उनीहरूको सहायता गर्न सुरक्षा ग्यारेन्टीहरू चाहिन्छ ।’




