काठमाडौँ, २१ फाल्गुण । बिद्या संस्कार स्कुल (चेल्सी) अत्तरखेल जोरपाटीको आयोजनामा सञ्चालित ८ औँ अन्तर स्कुल टिचर्स फुटसल टुर्नामेन्ट आज सम्पन्न भएको छ। बागमती प्रदेशका खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरज्युको प्रमुख आतिथ्यमा सम्पन्न यस टुर्नामेन्टमा उपत्यकाका १२ विद्यालयहरूको सहभागिता रहेको थियो।
हरेक वर्ष आयोजना हुने यस फुटसल प्रतियोगिता अन्य विशेष अतिथिहरूका साथै सयौँ सङ्ख्यामा उपस्थित दर्शकहरूका माझ भव्यताका साथ सम्पन्न भएको हो। बिद्या संस्कार स्कुल, एजिएम स्कुल, प्रिमियर ईन्टरनेशनल स्कुल, न्यु एरा स्कुल, न्यु जेनिथ स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, एक्सेलसियर स्कुल, एस स्कुल, डेफोडिल स्कुल, रिब्स स्कुल, सैपाल एकेडेमी र एन्जेल्स हार्ट स्कुलको सहभागिता रहेको यस प्रतियोगितामा डेफोडिल स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने एस स्कुल द्वितीय स्थान ओगट्न सफल भएको थियो। क्वार्टर फाईनलदेखि हरेक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच प्रदान गरिएको यस प्रतियोगितामा एस स्कुलका खेलाडी राजु श्रेष्ठ म्यान अफ द टुर्नामेन्ट भएका थिए। यस प्रतियोगितामा टप गोल स्कोरर, फेयर प्ले लगायत अन्य बिधामा पनि पुरस्कार प्रदान गरिएको थियो।
सम्पुर्ण रुपमा विभिन्न विद्यालयका शिक्षक र प्रशासनिक कर्मचारीहरू मात्र संलग्न हुन पाउने यो प्रतियोगिता नितान्त प्रतिस्पर्धाका लागि मात्रै नभई अन्तर विद्यालय सम्बन्ध बिस्तार, कर्मचारीहरूको रिक्रिएसन तथा हौसला अभिबृद्दिको लागि पनि आवश्यक भएको हुनाले हरेक वर्ष आयोजना गरिने कुरा आयोजक बिद्या संस्कार स्कुलका निर्देशक सुरेश अधिकारीले सर्वोच्च मिडियालाई जानकारी गराए।



