काठमाडौँ, १२ फाल्गुण । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ ।
संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो ।
नेपाली कांग्रेसका नेता डा।मिनेन्द्र रिजालले आजको संसद् बैठकमा एमसीसीमाथि सामान्य छलफल मात्रै हुने जानकारी दिए । ‘आजको बैठकमा सामान्य छलफल मात्र हुन्छ, निर्णयार्थ पेस हुँदैन । दैनिक छलफल मात्र हुन्छ,’ नेता रिजालले भने ।
एमसीसी निर्णयार्थ पेस गर्दा कसरी गर्ने भन्नेमा अहिले विवाद देखिएको छ । कांग्रेसले ध्वनि मतका आधारमा टुंगो लगाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी केन्द्र मत विभाजनको प्रक्रियामा जानुपर्ने अडानमा छ ।




