काठमाडौँ, ६ फाल्गुण । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्यान्ड(एरो थाई)ले आजदेखि परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दैछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र उडान उपकरण जाँच्नका लागि बिहीबार अपराह्न बैककबाट भैरहवामा एरो थाई कम्पनीको जहाज अवतरण गरेको थियो ।
उडानका क्रममा उसले विमानस्थलमा जडित उपकरण सही जडान भए नभएको, ती उपकरणले काम गरे वा नगरेको बारेमा परीक्षण गर्नेछ । फ्लाइट बिहान साढे ११ देखि १२ को बीचमा सुरु भई कति बजेसम्म हुन्छ भन्नेबारे जहाजमा आएका क्रुले निधो गर्ने आईसीबी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताए ।
क्यालिब्रेसन फ्लाइट अवधिभरि विमानस्थलबाट हुने अन्तरिक उडानको समय तालिका भने फेरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान हुने छैनन् ।
परीक्षण अवधिभर आकाशमा ड्रोन क्यामेरा नउडाउन र रेडिएसन आउने कुनै प्रकारका लाइट नबाल्न प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रकाशन गरी आग्रह गरेको छ ।




