किरात प्रदेश नामकरणका आधारहरू

`

     २०७८ माघ २५ गते ७:५३

कुनै पनि वस्तुले आ-आफ्नो आकार, प्रकार र स्वभाव आफैँले निर्धारण गर्ने गर्दछन् |  यसै क्रममा, यो संसारमा करिब २०० वटा देशहरू रहेका छन् | प्रत्येक देशहरूको आ-आफ्नो इतिहास, संरचना, ऐन तथा कानुन, सांस्कृतिक पक्षहरू, आध्यात्मिक पक्षहरू, प्रथाजनिक चाल – चलनहरू, मानव शास्त्रीय र समाज शास्त्रीय पक्षहरू, भाषा शास्त्रीय, वातावरणीय र भौतिक  विकासको पक्षहरूको फरक – फरक किसिमको रहेको पाइन्छ | कुनै पनि शास्त्र र विज्ञानले भन्न सकेको छैन कि यो संसारको उत्पत्ति ठ्याक्कै कसरी भयो भनेर |

यो संसारमा, विशेष गरी भौतिक विकास तीव्र गतिमा भए पछि यहाँ आ – आफ्नो थातथलोमा आदिम काल देखि बसोबास गर्दै आई रहेको  स्थानीय आदिवासी वा मूलवासीलाई सुनियोजित तरिकाले विस्थापन गरेको देखिन्छ | विकासको नाममा उल्टो आदिवासी हरूको भूगोलको, मौलिक परम्परा, भाषाभाषीको र इतिहासको विनाश गर्दै आएको प्रस्ट देखिन्छ |

यसै प्रसङ्गमा, वर्तमान नेपाल गणतन्त्र र लोकतन्त्र राज्य व्यवस्था रहेको छ | त्यसैले राज्यको पुनर्निर्माण र पुनर्संरचना गर्नुपर्ने छ | राज्यले आदिवासी लाई हेर्ने दृष्टि दूरदर्शिता र पारदर्शी देखिँदैन | अहिले, विविध विषयहरूको बारेमा चर्चा र विस्तृत छलफल हुँदैछ | राज्यले जनताको माग, आवश्यकता र आकाङ्क्षा अनुसार  काम गरेको देखिँदैन | राज्य सत्ताले जानी जाती जनता माथि उपद्रो र खेलाँची गरेको पाइन्छ | यदि राज्यले दमनकारी नीति अवलम्बन ग¥यो भने भोलिको दिनमा राष्ट्रले ठुलो क्षती व्यहोर्नु पर्दछ | यसै सन्दर्भमा, १. नं. प्रदेशको नाम किरात प्रदेश नामाकरण हुनुपर्ने र बनाउनु पर्ने आधारहरू र प्रमाणहरूको बारेमा यस प्रकार उल्लेख गरिएको छ |

किरात प्रदेश नामकरण हुनुको तथ्यहरू र आधारहरू:

१) भौगोलिक कारण:

आज मात्र किरात देश भनेर चिनिएको थिएन बरु प्राचीन काल देखि नै स्थापित किरात भूगोल भनेर चिनिन्थ्यो | प्राचीन कालको किरात थातथलोमा अहिले ३०-३५ वटा देशहरु रहेका छन् | किरातको लिखित इतिहास करिब १२००० वर्षको  पाइन्छ | यो किरात भूगोलमा फरक फरक किसिमको भाषा, संस्कार, जाती, लिङ्ग र वातावरण पर्यावरण पाइन्छ | यो भूगोल आदिम कालदेखि आदिवासी हरूको उदगम थलो पनि हो भनेर समाजशास्त्रीय र मानवशास्त्रीय हिसाबले चिनिन्छ | त्यसैले १. नं. प्रदेश किरात प्रदेश हुनुपर्छ |

२) प्राचीन किरात सभ्यता:

मानव विकास हुने क्रममा फरक फरक काल खण्डमा फरक फरक मानव सभ्यताको विकास भएको देखिन्छ | त्यसै मध्येका एक महान् र विशाल मानव सभ्यता हो किरात सभ्यता | किरातको लिखित प्राचीन इतिहास छ | प्राचीन किरात सभ्यता भित्र चोमोलोङमाको फेदी देखि युनानको पल्लो पट्टि सम्म फैलिएर रहेको थियो | यो भूगोल भित्र भौगोलिक, मानव शास्त्रीय र समाज शास्त्रीय, भाषिक, राजनैतिक, नीतिगत, विकासक्रम र कूटनीतिक पक्षहरूलाई किरात सभ्यता भित्र विकास र प्रवर्द्धन गरेको इतिहास पाइन्छ | तर आज, दक्षिण एसियाको भूगोलमा आदिम काल देखि बसोबास गरेको आदिवासीको थातथलो लाई किरात सभ्यताको भूगोल भनेर अध्ययनले देखाउँदछ | पछिल्लो कालमा, यो सभ्यतामा विभिन्न आदिवासी, जातजाति, भाषाभाषी, संस्कृति, कला कौशल र समाज रहेको छ | यो विविधता नै ठुलो स्रोत र गर्वको विषय हो |

पछिल्लो समयमा गढीहरूमा र दरबारहरूमा जबरजस्ती नियोजित हिसाबले हिन्दु धर्मावलम्बीहरूको मठ मन्दिर, देवता राखिएको पाइन्छ | राता रात मौलिक नामलाई परिवर्तन गरी नयाँ नामकरण गरेको भेटिन्छ …

३) ऐतिहासिक कारण:

विशेष गरी, आदिवासीहरूको आ – आफ्नो इतिहास, विरासत, त्याग, बलिदानी, सुशासन र बहादुरीको कारणले गर्दा आफ्नो पुर्खाले आर्जेको भूमिको रक्षा, विकास र प्रवर्द्धन गरेको थियो | सानो दुःखले आर्जेको भूमि होइन | पुर्खाको रगत र पसिनाले सिञ्चिएर बनेको हो किरात भूमि | जुन आदिम र प्राचीन थलो हो | नेपाल भूगोलको इतिहासमा सबै भन्दा धेरै गढी भएको भूगोल हो माझ किरात, पल्लो किरात र वल्लो किरात  | माझ किरातमा मात्र करिब ४७ वटा गढीहरू छन् | पछिल्लो समयमा मात्र हो त्यो भूगोलमा अरू जात जातिहरू बसाई सरि बसोबास गरेको | विशेष गरी गोर्खा राज्यको बिस्तार पछि थुक बिर्ता, जागिर तथा सेवा बिर्ता, उच्च नश्लीय जाति बिर्ता दिएको हो | बि. स. १८३१ सम्म मा त त्यो किरात भूमिमा त्यो भूगोलको आदिवासीहरू स्वतन्त्र रूपमा विभिन्न गढीहरूमा राजा र मन्त्री भएर आ – आफ्नो गण राज्य चलाएर बसेको थिए | पछिल्लो समयमा गढीहरूमा र दरबारहरूमा जबरजस्ती नियोजित हिसाबले हिन्दु धर्मावलम्बीहरूको मठ मन्दिर, देवता राखिएको पाइन्छ | राता रात मौलिक नामलाई परिवर्तन गरी नयाँ नामकरण गरेको भेटिन्छ,  त्यसैले पनि १. नं. प्रदेश किरात प्रदेश हुनु पर्दछ |

पछिल्लो समयमा, करिब २४७ बर्ष यता देखि आदिवासीको असली र मौलिक संस्कृतिलाई जबरजस्त तोडमोड गरी बिस्तारै हिन्दुकरण गरिएको तथ्यले देखाउँछ |

४) सांस्कृतिक कारण:

संस्कृति बिनाको समाज हुँदैन | यसको आधारमा सबै मानिसको जन जीवन र मानव पर्यायवरण चक्र चल्दछ | यो भूगोलमा बसोबास गर्ने आदिवासी हरूको पुरै पृथक् चाल चलन, रहन सहन र मूल्य मान्यता छन् यो किरात भूगोलमा | पछिल्लो समयमा, करिब २४७ बर्ष  यता देखि आदिवासीको असली र मौलिक संस्कृतिलाई जबरजस्त तोडमोड गरी बिस्तारै हिन्दुकरण गरिएको तथ्यले देखाउँछ | जब पृथ्वीनारायण शाहले नेपाल लाई असली हिन्दुस्तान अभियान चलाए र एक भाषा, एक भेष, एक राज्यको नीति ल्याए त्यो मिति देखि आदिवासीको जन जीवन धेरै कष्टकर बन्दै गयो |

५) राजनीतिक कारण:

कुनै पनि देशको राजनीतिले राज्यको चौतर्फी पक्षहरूको सम्बोधन, प्रवर्द्धन, गतिशीलता र दूरदर्शिता लाई मध्य नजर गरी सैद्धान्तिक हिसाबले अघि बढ्छ तर नेपालीको आदिवासीको सन्दर्भमा उल्टो छ | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुपुर्व पनि यो देश बाइसे, चौबिसे र सेन गणराज्यहरू थिए | त्यो राज्यहरूले आ-आफ्नो राज्य चलाएको थिए | पृथ्वीनारायण शाह दूरदर्शिता नभएकै कारणले अहिले नेपाल सङ्घीयतामा गएको छ | एक जातिको लागि, एक भाषाको लागि र एक लिङ्गको लागि मात्र पक्षपात सहित विकास गर्दा पनि कालान्तरमा आम जनताले दुख र कष्ट हुँदो रहेछ भन्ने कुरा २४७ बर्षको बस्तुगत इतिहासले प्रस्टाएको छ | तर जब जङ्ग बहादुरको र रण बहादुरको पालोमा मुलुकी ऐन १९१० मा जारी गरियो त्यो मिति देखि अझ ठुलो छुवाछूत र विभेदको बीजारोपण गरियो | त्यो ऐनमा उच्च नश्लजाती, मासिन्ने मतुवाली, नमासिन्ने मतुवाली, शूद्र र छोइछिट्टो नचल्ने जाति भनेर विभिन्न संरचनात्मक  हिसाबले पालना गराइयो |

६) आत्म निर्णयको अधिकार:

यो संसारमा, आदिवासीहरू लाई अन्त राष्ट्रिय श्रम संघसंगठन – १६९ ले आत्म निर्णयको अधिकार दिएको छ | आदिवासीहरूको इतिहास संरक्षणको लागि र प्रवर्द्धनको लागि जबसम्म आत्म निर्णयको  अधिकार प्रदान गरिँदैन तबसम्म केही हुनेवाला देखिँदैन | सबै देशहरूले आ आफ्नो ठाउँ, भाषा, जाति, सभ्यता, इतिहासको आधारितमा प्रान्तको नाम, ठाउँको नाम, संस्थाको नाम जातिको नाम नामाकरण र संरक्षण गरेका छन् | आदिवासीहरू आदिम काल देखि त्यो आफ्नो भूमिमा बसोबास गर्दै आएको हुन्छन् | त्यहाँको समाज, प्रकृति, जाल, जमिन र जङ्गलसङ्ग नजिकको सम्बन्ध रहेको हुन्छ | यो पृथ्वीको वातावरण सन्तुलन र संरक्षण गर्ने काम त्यो भूमिको आदिवासीहरूले आदिम काल देखि गर्दै आएको पाइन्छ | जस्तो : – अफ्रिकाको देशमा, पश्चिमी देशमा, पूर्वीय देशमा र एसियामा |

७) Decolonization:

यो पृथ्वीमा विभिन्न काल – खण्ड र समय चक्रहरू पार गर्दै  एक्काइसौँ ( २१०० ) शताब्दीमा आई पुगेको छ | विशेष गरी, करिब २५० वर्षको समय भित्रमा तीव्र गतिमा भौतिक विकास भयो तर अर्का तिर वातावरणीय, प्रकृतिजन्य, संस्कृतिजन्य र आदिवासीजन्य कुरालाई विनाश र असन्तुलन बनाइदिएको देखिन्छ | त्यसैले, हरेक देशमा आदिम काल देखि बसोबास गर्दै आएको आदिवासी हरूले आफ्नो जल, जमिन र जङ्गलको संरक्षण, प्रवर्द्धन र विकास गर्दै आएको छन् | हिजोको दिनमा, उपनिवेशिकरण हरूले सत्ता, शक्ति र बन्दुकको आँटमा आदिवासी हरूलाई विचलित बनाए तर आज, आदिवासीहरू पनि बौद्धिक, प्राविधिक, भौतिक र शैक्षिक रूपले विकसित भए ।  त्यो मिति देखि आफ्नो आदिम भूमिको, मौलिकताको, संस्कृतिको, पुर्खाको विरासत, पहिचानको खोजी र संरक्षणको अभियानमा अग्रसर देखिन्छन् | प्राय हरेक देशको शासन, राज्यसत्ता, कानुन, विधि र पद्धतिहरू त्यस देशको आदिवासीहरूको भाषा, धर्म, संस्कृति, प्रथाजनिक कानुन, मौलिकता, पुरातात्त्विक र समाजको आधारमा राज्य संरचना गरेको पाइन्छ | उदाहरणको लागि भारत र चीन : – भारतमा करिब १७ वटा जति र चीनमा विभिन्न प्रान्तहरूको नामाकरण भाषाको आधारमा, संस्कृतिको आधारमा, जातिको आधारमा, सभ्यताको आधारमा, इतिहासको आधारमा र आदिवासी हरूको आधारमा राज्य तथा प्रान्त नामाकरण गरिएको छ | सन्सारमा नै आदिवासी हरूले यो अभियान सञ्चालन गर्दै आएको छ | त्यसैले, हरेक हिसाबले प्रदेश न. १ को नामाकरण किरात प्रदेश हुनु पर्दछ |

८) प्राचीन पहिचानको बिधिवत स्थापन:

पहिचान बन्नलाई हजारौँ र लाखौँ वर्ष लाग्दछ | यो भावनामा बगेर मात्र हुने होइन यो त बस्तुगत, विज्ञान सम्बद्ध पनि हुनु पर्दछ | आदिवासी हरूको थात थलोको नामाकरण  विशेष गरी आफ्नो आदिम र प्राचीन पहिचानको आधारमा नामाकरण भएको पाइन्छ | पछिल्लो समयमा, नेपाललाई ७७ जिल्लामा विभाजन गरिएता पनि प्रत्येक जिल्लाभित्र रहेको हरेक गाउँ – गाउँ, टोल – टोल, भिर पाखा – पखेरा, खोला नाला, जमिन – जङ्गलको, गढी, दरबार र किल्ला तथा सिमाना हरूको नामाकरण आदिवासी हरूको पहिचानको आधारमा गरिएको देखिन्छ तर पछिल्लो कालमा २५० वर्ष देखि यता आएर आदिवासी हरूको पहिचान लाई हिन्दु वर्णाश्रम व्यवस्था अनुसार प्राचीन र मौलिक नाम तथा पहिचान लाई सुनियोजित तवरले तहस नहस गरी नयाँ नाम नामकरण गरियो र गरिँदै छ |  यो अभियानमा राज्यसत्ता आफै लागि परेको देखिन्छ | गढीको, किल्लाको, मन्दिरको, पार्टी पौवाको, पुरातात्त्विक ठाउँको, सांस्कृतिक तथा सम्पदाको, ठाउँहरूको  र गाउँहरूको नामाकरणमा एकल जातीय नश्लीयकरण र संस्कृतिकरण गरिँदै छ | अरूको पहिचान मेटेर कसैको भलो हुनेवाला देखिँदैन | जति प्रजातान्त्रिक र गणतान्त्रिक राज्यसत्ताले शासन गरे पनि आदिवासी लाई मास्ने काम गर्छ भने त्यो शासन र सत्ताले स्थायित्व पाउँदैन | यो कुरा संसारको विभिन्न देशहरूले र ठाउँहरूले प्रमाणित गरी सकेको देखिन्छ |

अन्तमा,

यदि किरात प्रदेश नामाकरण गरिएन भने फेरि पनि यो देशमा शान्ति, सुव्यवस्था र समृद्धि हुनेवाला देखिँदैन | आदिवासीहरूको भूमिलाई २४७ वर्ष पहिला देखि हडपे पनि र आदिवासीहरूलाई जति दुःख र कष्ट दिएता पनि आज आएर यो पूर्ण रूपमा निषेध र नष्ट गर्नु खोज्नु भनेको दिवास्वप्न मात्र हुने देखिन्छ | भनाई छ “आदिवासी कहिल्यै मासिँदैन” हुन पनि हो आदिवासीको सम्बन्ध  जन्मसिद्ध नाता र साइनो त्यो आदिम भूमि सङ्ग हुन्छ, प्रकृति सङ्ग हुन्छ, समाज सङ्ग हुन्छ र संस्कृतिसङ्ग हुन्छ | त्यो आदिवासी लाई राम्ररी ज्ञान छ त्यो भूमिको संरक्षण कसरी गर्ने, प्रवर्द्धन कसरी गर्ने र विकास कसरी गर्ने भन्ने बारेमा | नेपालमा केही निश्चित जाती, धर्म, भाषा र संस्कृतिवाला हरूले राणा शासन र पञ्चायत शासनको शैलीले अहिले पनि हेरिरहेका छन् यो गणतन्त्रमा पनि |

आजको समयमा धेरै जातिवादी, नश्लीय चिन्तन, सङ्कीर्णताको पक्ष पोषण गरियो भने समाजमा अन्तर द्वन्द्व र साम्प्रदायिक हिंसा मच्चिन्छ | त्यसैले, पछिल्लो कालमा आप्रवास तथा बसाई सराई आएको जनजातिले आदिवासी हरूको हक अधिकार माथि आधिपत्य जमाएर राज्यसत्तामा बसेको शासक हरूले यो वस्तुगत र ऐतिहासिक विषय बस्तुहरूको गम्भीरताको साथ समाधान र सम्बोधन नीतिगत हिसाबले र संस्थागत हिसाबले गर्नु नितान्त अपरिहार्य देखिन्छ |

आजको समय भनेको मिलेर, सहकार्य गरेर, वैज्ञानिक तवरले र हर कुराको सरलीकरण गरी अघि बढ्नु आवश्यक देखिन्छ | कसैले कसैलाई विभेद, निषेध र  पक्षपात नगरी साझा फूलबारी बनी बस्नु पर्ने देखिन्छ | आज भूमण्डलीकरण भएको परिवेशमा अन्तर्द्वन्द्व होइन बरु मानवीयताको हिसाबले, नैतिकताको हिसाबले र वस्तुगत हिसाबले हाम्रो देश, हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो विकास र हाम्रो समाज भनेर अघि बढ्नु जरुरी छ | यो काम गर्नु युवा पिँढीको काँधमा आएको देखिन्छ |

लेखक – ज्ञान बायुङ राई (सेचोचा), इतिहास  अध्येता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?