रुसले युद्ध नचाहेको तर सुरक्षामा ध्यान राख्ने रुसी विदेश मन्त्रीको अडान

`

     २०७८ माघ १४ गते १२:१०

काठमाडौँ, १४ माघ । रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् ।

शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमा हमला गर्न सक्ने बताएलगत्तै ल्याभरोभको यस्तो प्रतिक्रिया आएको हो ।

तर रुसको सुरक्षा चासोलाई बेवास्ता गर्न नदिने समेत ल्याभरोभको भनाइ थियो । ‘रुसी महासंघमाथि निर्भर रहेको अवस्थासम्म कुनै युद्ध हुनेछैन’, रुसी रेडियोसँगको प्रत्यक्ष अन्तर्वार्तामा उनले भने, ‘हामीले युद्ध चाहन्नौं ।’

पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव उत्कर्षमा पुगेको छ ।

तनाव उत्कर्षमा पुगिरहेका बेला अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिमी युरोपमा पठाउन बनाइएको प्रमुख पाइपलाइन खुलाउने प्रक्रिया अवरुद्ध पार्ने बताएका छन् । नोर्ड स्ट्रिम टु पनि भनिने उक्त पाइपलाइन सञ्चालनमा अवरोध गर्ने अधिकारीहरूको भनाइ छ ।

‘रुसले कुनै पनि तरिकाले युक्रेनमाथि हमला गर्‍यो भने नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन र म यो कुरा प्रस्टसँग भन्न चाहन्छु’, अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?