एजेन्सि, ११ माघ । इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख रात्रि क्लबमा भएको द्धिपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।
सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो ।
त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।
पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् ।
उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठूलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।
उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।




