काठमाडौँ, ७ माघ । पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो ।




