काठमाडौँ, ६ माघ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि न्युरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो ।
अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना सङ्क्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।



