काठमाडौँ, ६ माघ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए ।
‘प्रहरी नियमावलीको नवौं संसोधन सँगै बढुवा पक्रियामा गएको छ’ प्रहरी प्रवक्ता केसीले भने–‘तीन महिनामा संसोधित नियमावली अनुसारको पदमा बढुवा गरिसक्छौँ ।’ प्रहरीमा अहिले ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । उनीहरुमध्ये ३३ प्रतिशत अर्थात १५ हजार ५२७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् ।
हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई बरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयका तयारी छ । अहिले १४ हजार ९८९ जना हवल्दार छन् । उनीहरु मध्येबाट ३ हजार ७४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुन्छन् । त्यस्तै, प्रहरी नायव निरिक्षक ९सई०बाट बरिष्ठ सई हुनका लागी १ हजार ३ सय २० जना प्रतिस्पर्धामा छन् । प्रहरीमा अहिले ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरु मध्येबाट ३३ प्रतिशत अर्थात १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् ।




