काठमाडौँ, ४ माघ । भारतसँगको पूर्वी नाका काँकडभिट्टाबाट अत्यावश्यक कामबाहेक भारतलगायत तेस्रो मुलुक जान र त्यहाँबाट नेपाल आउन स्थानीय प्रशासनले सर्वसाधारणलाई रोक लगाएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पश्चिम बंगालका सहरहरूमा तीव्र रूपमा फैलन थालेपछि नाकामा कडाइ गरिएको हो।
‘हामीले अत्यावश्यक कामबाहेक भारतीय बजारमा किनमेल लगायत अन्य कामका लागि नजान सर्वसाधारणलाई अनुरोध गरेका छौं। सोमबार केही खुकुलो भए पनि मंगलबार बिहानदेखी बिरामी, औषधी र हवाई उडानका लागि भारत जानुपर्ने बाध्यात्मक अवस्था भएका नागरिक र पर्यटकलाई मात्र छोडेका छौं,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले भने।
दक्षिण अफ्रिका हुँदै अहिले यो भेरियन्ट छिमेकी मुलुक भारतमा पनि आइसकेको छ। यसले नेपाललाई पनि जोखिममा पारेको प्रहरीले जानकारी दियो।
भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य परीक्षण र खोप लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।




