एजेन्सि, ४ माघ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन्-‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो । उहाँ (पुटिन)पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ ।,
खानले भने ‘हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल गर्यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।’
सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ ।




