काठमाडौँ, २७ पौष । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।
प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने कुरामा सबै संसदीय दलसँग सहमति भएको बताए ।




