काठमाडौँ, २७ पौष । खानी तथा भूगर्भ विभागले देशका ८ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति दिएको छ ।
विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उहाँले बताउनुयो ।
यस्तै, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरिएको हो ।
विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत रु ३७ करोड राजस्वसमेत सङ्कलन गरेको छ ।




