नारायणहिटीको जग्गा मिलेमतोमा दिएको छानबिन समितिको निष्कर्ष

`

     २०७८ पौष २६ गते ११:१५

काठमाडौँ, २६ पौष । नारायणहिटी दरबार संग्रहालयको मूल गेटनजिकको जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ। १४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ।

‘यसरी क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न प्रोत्साहन गरेको देखियो,’ छानबिन समितिका संयोजक लुइँटेलले भने।

विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘स्वीकृति नदिइकन जग्गा प्रयोग गर्न दिँदा सम्पत्तिको संरक्षण र सम्बर्द्धनको लागि अनुगमन नगरेको देखियो,’ लुइँटेलले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?