काठमाडौँ, २० पौष । आगामी माघ १२ गते राष्ट्रिय सभाका रिक्त १९ पदका लागि हुने निर्वाचनमा विभिन्न ९ दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार उम्मेदवारी दर्ता भएसँगै पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको छ ।
२२ र २३ गते उजुरीउपर छानबिन हुने र २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुने कार्यतालिका रहेको छ । साथै, २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गराएकोमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीबाट २-२ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट र राष्ट्रिय जनमोर्चाबाट १-१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।




