काठमाडौँ, १६ पौष । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ ।
सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । ‘समान विचारधारा भएकाहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार भेटघाट भएको हो’, उनले भने ,छलफलको सुरुवात भएको छ, निकट भविष्यमा पक्कै पनि सकारात्मक दिशातिर हामी पुग्ने आशा गरौँ ।’
अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।
भेटपछि मिश्रले पनि ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद’ भेटेर सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन् । उनले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् ।
रवीन्द्र मिश्रले केही महिनाअघि मात्रै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । त्यसमा उनी गणतन्त्र र संघीयता विरुद्ध उभिएका छन् भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोक्दै आएको छ ।




