काठमाडौँ, १५ पौष । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । पछिल्लो समय युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ ।
पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन् । बुधबारको वक्तव्यमा महानिर्देशक टेड्रोसले भनेका छन्, ‘भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ।,
कीर्तिमानी संख्यामा संक्रमण बढ्नुमा डेल्टा र ओमिक्रोन भेरिएन्ट दुवै प्रमुख कारण रहेको उनको भनाइ छ । ‘ओमिक्रोन धेरै संक्रामक हुनु चिन्ताको कुरा हो । उही समयमा डेल्टाजस्तै यो भेरिएन्ट पनि फैलिइरहेकाले संक्रमणको सुनामी आउन सक्ने जोखिम छ,‘ उनले भनेका छन् । उनले कोभिडका कारण मात्रै स्वास्थ्य प्रणाली धराशायी नभएको उल्लेख गर्दै स्वास्थ्यकर्मी आफैं बिरामी परेकाले थप चुनौती थपिएको बताए ।
त्यस्तै खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन् । डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको उनको भनाइ छ ।
यसले २०२२ को जुलाईसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने डब्लूएचओको लक्ष्यमा चुनौती थपिएको छ ।




