काठमाडौँ, १२ पौष । नेकपा माओवादी केन्द्रको आठौ राष्ट्रिय महाधिवेशनअन्तर्ग कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।
सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । माओवादीको यस महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ ।




