पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विवेकशील साझा पार्टीले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

`

     २०७८ पौष ०७ गते ६:५४

काठमाडौँ, ७ पौष । विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।

सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुने पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

विवेकशील साझाले नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने बताएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भनेका छन्- देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ। त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो। सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?