काठमाडौँ, २ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका दाहालले एमसीसीबारे सर्वदलीय छलफल, सदन अवरुद्ध खुलाउनेलगायतका विषयमा कुरा गरेका थिए ।
एमसीसी र एमालेले लामो समयदेखि गरेको सदन अवरुद्ध खुलाउने विषयमा दुई नेताबीच कुराकानी भएको दाहालका स्वकीय सचिव रमेश मल्लले कान्तिपुरलाई जानकारी दिए ।
प्रधानमन्त्री देउवाले दाहालसँग केही दिनमै सर्वदलीय बैठक डाक्ने बताएका थिए । पछिल्लो समय नेकपा एमालेले संसद् अवरुद्ध पर्नाले एमसीसी अनुमोदनलगायत विषय प्रभावित बनेका छन् ।
बुधबारदेखि सुरु भएको संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ ।
भेटको क्रममा नेता दाहालले देउवालाई सभापतिमा निर्वाचित भएको बधाइ तथा शुभकामनासमेत दिएका थिए ।




