सेनाले पृथ्वी जयन्ती भव्य रूपमा मनाउने, गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’

`

     २०७८ पौष ०२ गते ५:००

काठमाडौँ, पौष २ । नेपाली सेनाले पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण गर्ने छन् ।

सेनाले मुलुक एकीकरणका अभियन्ता सम्मानमा एकता दिवसका अवसरमा यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख-रचना प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले विसं १७९९ चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गरेका थिए ।

सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा विगत केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ ।

प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासका साथ मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?