बेलायतमा ‘ओमिक्रोन आपत्काल’ घोषणा, घरबाटै काम गर्न सरकारको आदेश

`

     २०७८ मंसिर २७ गते १०:१८

काठमाडौँ, २७ मंसिर । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका छन् ।

जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’

उनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने पनि जानकारी गराएका छन् । कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने उनको भनाइ थियो ।

ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने पनि जोनसनको भनाइ थियो । त्यस्तै इङल्याण्डभर थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि उनले बताए ।

सरकारको नयाँ प्रतिबन्धात्मक नियम ‘प्लान बी’ अनुसार सोमबारदेखि मानिसहरूलाई घरबाटै काम गर्न समेत भनिएको छ । आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?