एजेन्सि, २६ मंसिर । यमनमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही गरेको छ । उक्त कारबाहीमा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अरेबियाको सरकारी प्रेसले जनाएको छ ।
यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरू गरेको पाइएको छ । शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २० ओटा आश्रयस्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।




