काठमाडौँ, २४ मंसिर । भारतीय काँग्रेसका वरिष्ठ नेता मुकुल वासनिकले नेपाल र भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक रहेको बताएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली काँग्रेसको महाधिवेशनमा मन्तव्य दिँदा गौरव महसुस भएको धारणा राखे ।
दुई पार्टीको बीचमा राम्रो सम्बन्ध रहेको र दुई पार्टीका बीचमा एक अर्काको कुरा अदानप्रदान भइरहेको बताउँदै उनले नेपाल–भारतको बीचमा पनि छुट्टै सम्बन्ध रहेको बताए । खुल्ला सीमाका कारण दुई देशको बीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उनको भनाइ थियो । दुई देशको बीचमा केही समस्या हुनसक्छ, तर त्यसलाई दुवै देशले मिलेर समाधान गर्न सकिन्छ, उनले भने, यसका लागि भारतीय काँग्रेसले के भूमिका खेल्नुपर्छ त्यो भूमिका खेल्न तयार छौँ ।,




