काँग्रेस महाधिवेशन : पदाधिकारीसहित १ सय ३४ जना निर्वाचनबाट चुनिँदै

`

     २०७८ मंसिर २१ गते ८:१२

काठमाडौँ, २१ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ ।

काँग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस आधारमा झन्डै आठ हजार काँग्रेसका नेता कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् । मुलुक संघीयतामा गएपछि काँग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ । पहिलोपटक काँग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ ।

काँग्रेसको केन्द्रीय कार्यसमिति १ सय ३४ सदस्यीय हुनेछ । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । काँग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ । कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।

काँग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ ९खस(आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत आउने छन् । काँग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् ।

यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट नौ, खस-आर्यबाट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ ।

केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी(सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?