चितवन, मंसिर १९ । आइतबार चितवन निकुञ्जमा वन मन्त्री रामसायप्रसाद यादवले क्यामेराको स्वीच अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण (गणना) कार्यको उद्घाटन गरेका छन् ।
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसअघि सन् २०१८ मा भएको गणनामा देशभर २३५ भेटिएका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्दर कँडेलले गणनामा एक हजार क्यामेरा र दुई सय ५० जना मानव शक्ति खट्ने जानकारी दिए । गणनामा ३ करोड ७० लाख रूपैयाँ खर्च हुनेछ ।
आउँदो अन्तराष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ ।




