काठमाडौँ, १७ मंसिर । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतको अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु १ महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।
प्रहरी कर्मचारीको मनोबल बढाउन प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था गरेको छ ।
विभिन्न प्रहरी महानिरीक्षकको पालामा पनि यो निर्णय गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन । यसअघि प्रहरी निरीक्षकसम्मका कर्मचारीले १२ वर्षसम्म जागिर अवधि पूरा गरे एक तह बढुवा गर्ने व्यवस्था थियो ।
तल्लो दर्जामा बढुवामा जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ ।
थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन् ।




