निकै सङ्क्रामक मानिएको डेल्टा भेरिअन्टको सङ्क्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला ओमिक्रोनले संसार भरी त्रास सिर्जना गरेको छ। ओमिक्रोन भेरिअन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको हो।
दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा सङ्क्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरिअन्टका बारेमा थाहा पाएका थिए । अहिले युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिक सहित विभिन्न देशमा यो भेरिअन्टका सङ्क्रमित भेटिएका छन्।
द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरिअन्टले दुइटा त्रास सिर्जना गरेको छ:
पहिलोः
यो ओमिक्रोन भेरिअन्ट डेल्टाभन्दा पनि निकै सङ्क्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसको सङ्क्रमणको गति बारे यकिन हुन बाँकी रहे पनि यो निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
ओमिक्रोन डेल्टाभन्दा झन् सङ्क्रामक भए यसले फेरि विश्वभरि एकैसाथ सङ्क्रमण बढाउन सक्ने देखिएको छ। डेल्टा
दोस्रो:
ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। अहिले प्रयोगमा आइरहेका कोरोनाविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरिअन्ट विरूद्ध प्रभावकारी ढङ्गले काम गर्न सक्दैनन् कि भन्ने डर छ। फाइजर र बायो एन्ड टेक भ्याक्सिन निर्माता कम्पनीले ६ साताभित्र नयाँ भेरिअन्ट विरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र १०० दिनभित्र पहिलो मात्रा डेलिभरी गर्न सक्ने बताएको छ।
इजरायलले त आइतबारदेखि लागु हुने गरी सबै विदेशीको आगमनमा प्रतिबन्ध लगाइदिएको छ। प्रधानमन्त्री नाफ्टाली बेनेटले यो प्रतिबन्ध १४ दिनसम्म रहने बताएका छन्।
त्रासका कारण अहिले अन्य विभिन्न मुलुकले पनि दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन्। अमेरिका, बेलायत, अस्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन्। भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको राम्ररी परीक्षण गर्न निर्देशन दिएको छ।




